दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।
सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ भएको हो ।
प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
आकांक्षी सांसदहरू धेरै भएकाले एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले लिएका थिए । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीबारे भने प्रधानमन्त्री ओलीले आवश्यक ध्यान दिएको देखिएन ।
कतिसम्म भने आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित जस्तै रहेका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री हुने सूचीबाट ओलीले हटाए । विश्वकर्मा एमालेमा चुनाव जित्ने थोरै सिनियर नेतामध्ये प...