काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना.१ क ९२५० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आइतबारको उक्त दुर्घटनामा २ वर्षीया पुजा थिङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरस्थित सडकमा इन्द्रपुरबाट कर्मौनातर्फ जाँदै गरेको भे.१ त ९८२६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने २८ वर्षीय रफिक जोलाहको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी धनुषाको सबैला नगरपालिका-१० सिमराढीस्थित सडकमा बा.प्र.०१-०२७ च ८२२९ नम्बरको कार र ज.११ प ७७९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सबैला नगरपालिका-९ भठियन बस्ने २१ वर्षीय अमन कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल जनकपुरतर्फ पठाइएको छ ।
यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा युपि ५५ डि ६९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत महाराजगंज प्रशामलिक थाना ग्रामपोष्ट बस्ने २६ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ बड्हरा पुल नजिक सडकमा बा.प्र.०३-००१ ख २२२० नम्बरको ट्रकले लु.९१ प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु बुद्धभुमि नगरपालिका-२ गोरूसिंगे बस्ने २० वर्षीय अर्जुन थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा प्रहरीले जनाएको छ ।