२३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेवानि) का समस्या समाधान गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक महिने ‘अल्टिमेटम’ दिएको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा पर्यटनमन्त्री पाण्डेले नेवानिलाई सुधारको योजनासाथ काम गर्न एक महिनाको अवधि सहित निर्देशन दिएको जानकारी दिए ।
त्यसैगरी मन्त्री पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने पनि बताए ।
उनले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने बताए ।
‘हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौं,’ मन्त्री पाण्डेले भने ।