२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही गर्ने भएको छ । रेक्टर खड्ग केसीको कार्यकक्षमा धर्नामा बसेका पाँच विद्यार्थी संगठनसँग नफर्किने प्राध्याकपलाई कारबाही गर्ने सहमति भएको हो ।
‘अध्ययन बिदामा गएर नफर्किने शिक्षकको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष दिनेश ऐरले भने । २०४५ सालदेखि अध्ययन बिदामा बसेका त्रिविका शिक्षक काममा फर्किएका छैनन् ।
तर कति प्राध्यापक फर्किएका छैनन् भन्ने यकिन तथ्यांक त्रिविसँग छैन । त्रिविले हाल तथ्यांक संकलन गरिरहेको छ ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकारलाई पत्रचार गर्ने भएको छ । जग्गा अतिक्रमण गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउन त्रिवि पदाधिकारी सहमत भएका छन् । विभन्न माग राखेर पाँच वटा विद्यार्थी संगठन रेक्टर कार्यालयमा धर्नामा बसेका थिए ।
त्रिवि र विद्यार्थीबीच ९ बुँदे सहमति भएपछि विद्यार्थी संगठनले धर्ना अन्त्य गरेका छन् ।